Ultimate magazine theme for WordPress.

बिते जितन सदाय औषधि अभावकै कारण

178

सिराहा

पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १ बल्टिया घर भएका करिब ३१ वर्षीय जितन सदायकाे कर्जन्हाकै ५ नं. वडामा पर्ने बडहरा मिर्चैयास्थित ससुराली घरमा आएको केही दिनपछि ११ जेठको बिहान मृत्यु भयो ।

 

मृतककी पत्नी करिब २६ वर्षीया दुलारीदेवी सदाय भन्छिन्, ‘निषेधाज्ञाले मजदुरी गर्न नपाएर रोजीरोटी खोसिएपछि ससुराली गाउँ गएका थिए, ससुराली घरमै ज्यान गए पनि कसैले छुन नमानेपछि घरबाट गएका आफन्तले बोकेर गाउँ ल्याएर दाहसंस्कार गर्‍याैँ ।’

आफ्नै घरमा ज्वाइँले मृत्युवरण गरेपछि विक्षिप्त बनेका रामप्रसाद निषेधाज्ञामा मजदुरी गर्नसमेत नपाउँदा दुई नाति–नातिना र सहारा गुमाएकी छोरीको चिन्ताले थप पिरोलिएको सदाय बताउँछन् ।

‘मजदुरी गरेर बिहान–बेलुका चुलो बाल्ने मुसहरहरू ज्वरो र रुघाखोकीको औषधिसमेत नपाएर मर्न बाध्य हुनु चिन्ताको विषय हो,’ उनले भने ।

चरम गरिबी झेलिरहेका वृद्धावस्थाका ससुरा रामप्रसाद सदाय पनि दम र श्वासप्रश्वासका रोगी भएकाले ससुराली आएका जितनले ज्वरोको औषधि पनि किनेर खान नपाउँदा मृत्यु भएको स्थानीय अगुवा तथा सामाजिक कार्यकर्ता सिजेन्द्र सदाले बताए ।

सामान्य ज्वरो र रुघाखोकी लागेका उनको मृत्युपछि कोरोनाको डरले ससुराली गाउँका कसैले पनि छुनसमेत नमानेपछि त्यही दिन दिउँसो बल्टियास्थित घरबाट आएका दाजुभाइले शव बोकेर गाउँ पुर्‍याएर नजिकै रहेको कमला नदी किनारमा जातीय परम्पराअनुसार दाहसंस्कार गरे ।

साक्षी बस्नुबाहेक विकल्पहीन आफन्त

बडहरा मिर्चैयाकै ६२ वर्षीय हिरालाल लामाको पनि उपचार र वेलामा खानेकुरा नपाउँदा ५ जेठमा मृत्यु भएको सदायले उल्लेख गरे । ‘गाउँघरमै मजदुरी गरेर परिवार चलाउँदै आएका छोराहरू रोहित लामा र विजय लामाले पनि श्वासप्रश्वासका बिरामी बाबुलाई उपचारका लागि कतै लैजान सकेनन्,’ उनले भने, ‘निषेधाज्ञामा बिहान–बेलुका चुलो बाल्ने संकट झेलिरहेका छोराहरू बाबुको मृत्युको साक्षी बस्नबाहेक विकल्पहीन बन्न बाध्य भए ।

निषेधाज्ञाकै बीचमा जीवन गुमाएका बाबुको मृत्युपछि जसोतसो दाहसंस्कार गरे पनि गरिबीको कारणले काजकिरिया गर्न समस्या भएको छोरा रोहित लामा बताउँछन् । ‘बिहान–बेलुकाको छाक टार्न नै समस्या छ, कसरी काजकिरिया गर्नु ?’ लामाले भने ।

बडहरा मिर्चैया गाउँका ६५ वर्षीय भिखारी सदाको पनि २९ वैशाखमा मृत्यु भएपछि परिवार विलखबन्दमा परेको उनका भाइ ३७ वर्षीय मनका सदायले उल्लेख गरे ।

कर्जन्हा नगरपालिका प्रमुख गंगा पासवानले आफ्नो नगर क्षेत्रमा अहिलेसम्म कसैले पनि उपचार नपाएर मर्नु नपरेको दाबी गरे ।

कर्जन्हा– ५ का वडाधयक्ष चन्द्रभूषण खातीले त झन् नगरप्रमुख पासवानलाई उछिनेर मृतकहरूको परिवार खान–लाउन पुग्ने र परेको वेला आफ्नै बलबुतमा उपचारसमेत गराउन सक्ने आर्थिक अवस्थाको रहेको जिकिर गरे ।

महामारी र निषेधाज्ञाको वेलामा गरिब समुदायका मुसहरहरूको अवस्था सोध्न पनि जानुभएन भन्ने गुनासो छ नि भन्ने प्रश्नमा वडाध्यक्ष खातीले भने, ‘तिनको परिवारमा छोराहरू नै कमाउने छन्, अनि सामान्य बिरामी भएको वेलामा पनि जनप्रतिनिधि घरघर जान त सक्दैनौँ नि ।’

‘दम र खोकीका बिरामी दाजु निषेधाज्ञाको बेलामा उपचार नै नपाएर मर्न बाध्य भए,’ सदायले गुनासो गर्दै भने, ‘कसलाई गुहारेनौँ, वडाध्यक्ष, वडासदस्य कसैले पनि सुनुवाइ गरेनन्, दाजु बितेपछि ६ जनाको परिवारको बिचल्ली हुने भयो ।’

‘निषेधाज्ञाका वेलामा मजदुरीमा आश्रित परिवारहरूले भोक र रोगको सामना गर्न नसकेरै कतिले ज्यान गुमाउने हुन्, त्यसको न स्थानीय सरकारलाई चासो छ न त समृद्धिको नारा दिएर नथाक्ने संघीय सरकारलाई,’ विश्वकर्माले भने ।

जिल्लाको पश्चिम भेगमा पर्ने पर्ने कर्जन्हा– ५ मा करिब तीन सय घरधुरीको संख्यामा रहेका मुसहरहरू प्रायः मजदुरी गरेर जीविका चलाउँदै आएको स्थानीय राजु विश्वकर्माले बताए ।

source nayapatrika