Ultimate magazine theme for WordPress.

बाथरुममा लडेर घाइते भएकी २३ वर्षे ७ महिनाकी गर्भवती सबिनाको अस्पताल चहार्दा चहार्दै मृत्यु

367

विराटनगर –

सात वटा अस्पताल पुर्याउँदा पनि उपचार नपाएका कारण लडेर घाइते भएकी मोरङकी एक गर्भवती महिलाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका(५ की २३ वर्षीया सविना थापा ९दर्जी०को बिहीबार बिहान मृत्यु भएको हो।

सौच गर्न गएकी उनी मंगलबार राति १० बजेतिर घर नजिकैको शौचालयमा लडेकी थिइन्। लडेका कारण स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उनलाई बुधबार राति उपचारका लागि विराटनगर ल्याएका थिए।

नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पतालले उनको उपचार गर्न मानेनन्। एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन्। ‘बिरामीको अवस्था गम्भीर रहेकोभन्दै अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको जवाफ दिए,’ उनले भनिन्, ‘कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्दैनौं भने।’

कोशी अस्पतालमा भने कोरोनाका बेला बिरामी ल्याएको भनेर नर्सहरुबाट दुर्व्यवहार खेप्नु परेको गुनासो उनले गरिन्। विराटनगरका अस्पतालहरुमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान लगभग २स्३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिइन्।

उनका अनुसार भर्ना लिएको प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गर्यो। प्रसूति कक्षमा पुर्याएर उपचार थालेको केही बेरमा बिहान ३स्३० बजेतिर सविनाको मृत्यु भएको जानकारी उनले दिइन्।

सविनाका बुवा चन्द्र थापाले डुलाउँदा डुलाउँदै सबै अस्पताल पुर्याए पनि भर्ना लिन र उपचार गराउन नमानेका कारण छोरीले मृत्युवरण गर्नु परेको अन्‍नपूर्ण अनलाइनलाई बताए। अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरु गरिदिएको भए बाँच्ने अवस्था रहेकी छोरीले अकालमा ज्यान गुमाउनु परेको उनको गुनासो छ।

लडेका कारण मृत्यु भएकाले सविनाको शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए। ‘कानुनी प्रक्रिया पूरा गरेर घटनाको अनुसन्धान थाल्दै शव पोस्टमार्टमका लागि लगिएको छ,’ उनले भने, ‘त्यसको रिपोर्ट आइसकेपछि मृत्युको कारण खुल्छ।’

प्रहरीका अनुसार सविनाको शरीरका केही भागमा लडेर लागेका सामान्य दाग जस्तो देखिन्छ। लडेर गर्भमा समस्या परेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ।

पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका सविना र भरतको पहिलो सन्तान चार वर्षकी छोरी छन्। सविनाको माइती झापाको सुरुँगा हो।

सविनाका श्रीमान भरत दर्जीले पनि उपचारका लागि लागिएका अस्पतालले लिन नमान्दा सात महिनाकी गर्भवती श्रीमती गुमाउनु परेको गुनासो गरे। लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही भएको उनको गुनासो छ।

‘श्रीमतीको उपचार गर्न आग्रह गर्दै धेरै डाक्टरको खुट्टा समाएँ। हारगुहार गरेँ,’ उनले भने, ‘तर कसैले पनि वास्ता गरेनन्। कोरोनाको बहानामा स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भएका बिरामीले अस्पतालमा उपचार नै नपाउने अवस्था आउनु दुर्भाग्य हो।’ भरतले श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी लडाइँमा जाने तयारीमा आफू रहेको पनि सुनाए।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले आईसीयू खाली नभएकाले स्वास्थ्यमा गम्भीर समस्या भएका बिरामीको उपचार गर्न नसकिएको बताए।

‘आईसीयूका कारण बिरामीलाई भर्ना लिन सकिएको छैन,’ उनले भने, ‘अर्कातिर कोरोना त्रासका कारण नयाँ बिरामीको उपचार गर्न डाक्टर पनि डराउँछन्।’ अन्न्पुर्ण पोष्टमा खबर छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार मात्रै सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएमा कारबाही अघि बढाउने चेतावनी दिएका थिए।