Ultimate magazine theme for WordPress.

जीप खोल्सामा खस्यो, सविना र विमलको मृत्यु, ६ जना घाइते

448

म्याग्दी ।

जिल्लाको मङ्गला गाउँपालिका-२ मिठौलामा बुधबार राति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग१ज ७६५२ नम्बरको जीप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला-१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको पुष्टि गरे। “उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए”, उनले भने, “छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।” घाइते र मृतक सबै मङ्गला गाउँपालिका-१ का हुन् ।

अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

जीप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । राति सवा आठ बजेतिर दुर्घटना भएको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए । सिमलचौर-मिठौला-पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो ।

कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला-१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जीप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो ।

दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए।

यसैबीच दुर्घटनाका घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।

-रासस

photo by google