Ultimate magazine theme for WordPress.

पोखरामा खोप अभियान एकाएक यस कारण स्थगित भयो

311

पोखरा ।

शनिबार सेवाग्राहीले खोप केन्द्र पुगेपछि मात्रै खोप अभियान स्थगित भएको चाल पाए । त्यहाँ पुग्दा सेवाग्राही बाहेक कोही पनि थिएनन्, खोप केन्द्रमा ताला लगाइरहेको थियो ।

पोखरामा जारी खोप अभियान एकाएक स्थगित भएको छ । आजका लागि खोप लगाउन खोपकेन्द्र पुगेकाहरु आश्चर्यमा परे । शुक्रबार साँझसम्म खोप स्थगित गर्ने कुनै सूचना थिएन ।

खोप केन्द्रमा कोही पनि नभएपछि सेवाग्राहीले आफूले चिनेका मिडियाकर्मीलाई फोन गरेर सोधे, ‘आज खोप लगाउन पाइने भनेर आएको, यहाँ त कोही पनि छैन किन हो ?’ मिडियाकर्मीले जवाफ दिए, ‘खोप सकिएका कारण अभियान स्थगित गरिएको भन्ने जानकारी पाएका छौं ।’

पहुँचका आधारमा मात्र खोप दिएको चर्चा चलेपछि रोकिएको त हैन ? भन्ने प्रश्नमा उनले अनभिज्ञता प्रकट गरे ।

पोखराका विभिन्न केन्द्रबाट पहुँचका आधारमा जुनसुकै उमेरका आफन्तलाई खोप लगाइएको भन्दै व्यापक आलोचना भएका छन् ।

खोप अभियान चलिरहँदा अनुगमनका क्रममा खोप केन्द्रहरु निकै अव्यवस्थित, भद्रगोल देखिन्थे । त्यसक्रममा सेवाग्राहीले निकै गुनासो गरेका थिए

सरकारले ५५ वर्षका माथिका नागरिकका लागि जनसन एण्ड जनसनको एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो । एकमात्र डोज लगाएर हुने भएपछि नागरिकहरु पनि खुशी थिए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा श्रोतका अनुसार जनसन चलाउने भनेर शुक्रबार स्वास्थ्य मन्त्रालयबाट निर्देशन आएपछि पोखराका विभिन्न स्थानमा खोप केन्द्र तोकिएको थियो ।

पछि एकाएक जनसन नचलाउने भनेर जानकारी आएको र भेरोसेल खोपको स्टक सकिएकाले अभियान स्थगित गरिएको हो । पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहले जनसन खोप दिने तयारी भएको थियो ।