Ultimate magazine theme for WordPress.

देउवालाई विश्वासको मत दिएका माधव नेपालसहित एमालेका २२ सांसद छलफलमा

160

प्रधानमन्त्री

शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसद छलफलमा जुटेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरू छलफलमा जुटेका हुन् ।

आगामी रणनीतिबारे छलफलमा जुटेको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल भएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरणको विषयमा पनि छलफल हुने ती सांसदले बताए ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)अनुसार बन्ने सरकारलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने व्याख्या गरेको छ ।

पार्टी निर्देशन नमाने पनि देउवालाई विश्वासको मत नदिने सांसदलाई भने एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छैन । ओली पक्षमा रहेका नौ सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

सर्वोच्च जानेमध्येका भीम रावलले मतदानअघि राजीनामाको घोषणा गरेका थिए भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, राजबहादुर बुढा, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट र झपट रावलले मतदानमा भाग लिएनन् ।

झलनाथ खनाल उपचारका लागि दिल्लीमा भएकाले मत दिन पाएनन् । उनले पक्षमा मतदान गर्न एमाले सांसदलाई अपिल गरेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने योगेश भट्टराई, गोकर्ण विष्ट र गणेश पहाडी पनि विश्वासको मत दिने बेला संसदमा उपस्थित भएनन् ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद
माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन ।