Ultimate magazine theme for WordPress.

मानव अस्तित्वका लागि कोभिड–१९ भन्दा जलवायु संकट निकै ठूलो खतरा हो र यसलाई कुनै खोपले निको पार्न सक्दैन

199

भावी पुस्ताका लागि झनै प्रतिकूल अवस्था आउने भएकाले जलवायु संकट बालअधिकार संकट पनि हो । संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धिले बालबालिकाको बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । अभिसन्धिले स्पष्ट रूपमा विश्वव्यापी तापमानलगायत ‘वातावरणीय प्रदूषणको खतरा र जोखिम’को पनि उल्लेख गरेको छ ।

दक्षिण कोरिया, पाकिस्तान, भारत र अन्य थुप्रै मुलुकका बालबालिकाले जलवायु परिवर्तनमा अकर्मण्यताका लागि सरकारलाई मुद्दा हाल्न सुरु गरेका छन् । यो उनीहरूले चालेको कदममा ऐक्यबद्धता जनाउने समय हो । प्रतिकूल मौसमी परिघटनाबाट प्रभावित मुलुकका लागि त जलवायु संकट झनै चुनौतीपूर्ण बनेर देखापरेको छ ।

हरेक नयाँ खुलेका कोइला प्लान्ट, जलेर मासिएका हरेक एकड जंगल अनि अर्थतन्त्रलाई सफा र हरित जगमा उभ्याउन गुमेका हरेक अवसरले यी बालअधिकारलाई क्षीण बनाउँदै छन् । त्यसैले, प्राकृतिक स्रोतको अतिशय उपभोगको असर न्यून गराउन सहयोग गर्ने प्रभावकारी पहलकदमी लिनु सरकारहरूको नैतिक दायित्व हुन आउँछ ।

यो सरकारको कानुनी दायित्व हो भन्ने मान्यता पनि बढ्दो छ । साथै, हाम्रा बालबालिकाले कोभिड–१९ को महाव्याधिअघिसम्म यसबारे आफ्नो आवाज हामीलाई सुनाइरहेका थिए ।

जुन क्षेत्र पहिलेदेखि नै बढी विपत्ग्रस्त थिए/छन् र जहाँ विश्वका सबभन्दा बढी कार्बन उत्सर्जन गर्ने तीन मुलुक र एक सय अति प्रदूषितमध्ये ९९ सहर छन्, त्यहाँ यस्ता अधिकार विषाक्त फोहोरको खाडलमा पुगिरहेका छन्

यो विश्वव्यापी महाव्याधिले सबैको ध्यान अन्यत्रै मोडिदिएको छ । गत वर्षसम्म सार्वजनिक ध्यान खिचिरहेको बालबालिका एवं युवाको जलवायु संकटको आवाजलाई यो नयाँ संकटले एकाएक चुप बनाइदिएको छ ।

मानवमाथि कोभिड–१९को भन्दा जलवायु संकटको निकै ठूलो खतरा छ र यसलाई कुनै पनि खोपले ठीक गर्न सक्दैन । जलवायु परिवर्तनका कारण बालबालिका र युवाको भविष्य सबैभन्दा बढी जोखिममा रहेको हुँदा हामीले उनीहरूको कुरा सुन्नुपर्छ । साथै, सरकारले जलवायुलाई ठोस पहलकदमीले सम्बोधन गर्दा उनीहरूको आवश्यकतालाई त्यसमा समायोजन गर्नु आवश्यक छ ।

आफसोस हालसम्म यस्तो सामूहिक प्रयत्नको अभाव छ ।सिया प्रशान्त क्षेत्रका सरकार अग्रमोर्चामा हुनुपर्छ । किनभने यो जलवायु संकटको सबैभन्दा ठूलो मानवीय प्रभाव उनीहरूले नै साक्षात्कार गर्दै छन्, जुन क्षेत्र विश्वको आधा जनसंख्या र दुईतिहाइ गरिबको घर पनि हो ।

एसियाको आधा सहरी जनसंख्या बाढी एवं डुबानग्रस्त समतल भूभागमा बस्छ, जो बढ्दो समुद्री सतह र डुबानको सबैभन्दा बढी जोखिममा छ । फिजी, सोलोमन टापु र भानुआतुजस्ता प्रशान्त क्षेत्रका टापुमुलुक समुद्रको सतह एक मिटर बढ्दा नै नामेट हुने जोखिम छ । जसबाट चिनियाँ तटीय क्षेत्रका दुई करोड ३० लाख मानिस पनि जोखिमा छन् ।