Ultimate magazine theme for WordPress.

नेपालमा एकैदिन १०१६ जनामा कोरोना पोजेटिभ थप

80

काठमाडौं—नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ हजारभन्दा बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १०१६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । जुन नेपालमा एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी हो । पछिल्लो २४ घण्टामा १०१६ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ लकडाउन खुलेसँगै जनसंख्या बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण दर बढ्दो अवस्थामा छ । त्यसको केन्द्रमा काठमाडौं उपत्यका रहेको छ । यसबाहेक प्रदेश २ का जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । कोभिड-१९ का कारण गम्भीर अवस्थामा पुगेका १ सय जना बिरामी देशका विभिन्न अस्पतालका आईसीयु र भेन्टिलेटरमा पुगेका छन् । हेल्थ आवाजलाई प्राप्त तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४७ जना आईसीयु र ६ जना भेन्टिलेटरमा कोभिड-१९ का संक्रमित उपचाररत रहेका छन् । जसमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयुमा १४ जना, युनिफाइड अस्पताल बलम्बुमा ८ जना, त्रिवि शिक्षण अस्पतालको आईसीयुमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, ह्याम्स अस्पताल धुम्बाराहीमा ७ जना, धुलिखेल अस्पताल धुलिखेलमा २ जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना आईसीयुमा उपचाररत रहेका छन् । कोरोना संक्रमित ६ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपत्यका बाहिर ४८ जनाको आईसीयुमा उपचार भइरहेको छ