काठमाडौं – आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ ।
ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।
उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।
कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।
ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए ।
निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ।
बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको छ।
बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ। यसअनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गरिनेछ। यसको निम्ति ललितपुर महानगरको रिङरोडभित्र पर्ने क्षेत्रमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ।
कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ।