Ultimate magazine theme for WordPress.

अख्तियारका पदाधिकारी माथि छानबिन गर्न पौडेल ले मागे उच्चस्तरीय न्यायिक छानबिन समिति

167

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

भ्रष्टाचारका ठूल्ठूला कान्डमा संलग्नहरुलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रबार विज्ञप्तिमार्फत् पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लार्परबाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरुलाई जिम्मेबार बनाउन’पौडेलले विज्ञप्तिमा भनेका छन्,‘एकजना पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा सबैको भरोसायोग्य न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।’

 

पौडेलले शुक्रबार कान्तिपुरमा प्रकाशित ‘निगमनको जग्गा खरिद फाइल सुटुक्क तामेली’ शीर्षक समाचारप्रति अख्तियारको ध्यानआकर्षण गराएका छन् । ‘१ अरब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी ढिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भईरहेको छ,’ पौडेलले भनेका छन,‘माझीले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कारबाही किन भइरहेका छन् ?’

पौडेलले वाईडबडी, यति, ओम्नी, बालुवाटार जग्गालगायतका कान्डहरुमा समेत अख्तियारको भूमिका सन्देहपूर्ण रहेको बताएका छन । ‘तिनको तदारुकताका साथ छानबिन गरेर दोषीउपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रमलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा छन्,’ पौडेलले भनेका छन,‘तसर्थ ती लापरबाहीको छानविन गर्न आवश्यक छ ।’