Ultimate magazine theme for WordPress.

दोस्रो बिबाहबारे जानकारी दिँदै श्वेताले भनिन्ः मर्नुभन्दा हिम्मतका साथ अघि बढ्ने अठोट गरेँ

168

मंसिर, काठमाडाैँ । अभिनेत्री श्‍वेता खड्काले वैवाहिक जीवनमा बाँधिन लागेको पुष्टि गरेकी छन्। पहिलो पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि एकल जीवन बिताउँदै आएकी उनले यही मंसिर २२ गते गोकर्ण रिसोर्टमा धनगढीका युवक विजयेन्द्र रावतसँग बिहे गर्न लागेकी हुन्।

उनले आफ्नो बिहेबारे चर्चा गर्दै आइतवार सामाजिक सञ्‍जालमा लामो अभिव्यक्ति दिएकी छन्। श्‍वेताले अनेक दु:ख, कष्टहरू सामना गर्दै आफू यहाँसम्म आइपुगेको बताउँदै ती कहाली लाग्दा भोगाइलाई शब्दमा वर्णन गर्न नसकिने उल्लेख गरेकी छन्।

उनले जिन्दगीको लामो बाटो तय गर्न पनि आफूले बिहेको निर्णय लिएको बताएकी छन्। ‘म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो, जसमा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोका ज्वालाहरु छरपस्ट भएर छरिएका छन्’

, श्‍वेताले भनेकी छन्, ‘मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरलाई फुटाउनु पर्नेछ अनि आगोका ज्वालाहरुलाई नाघ्नु पर्नेछ।’

‘जीवनका विभिन्‍न आरोह-अवरोह, उकाली-ओराली, सुख दुःख अनि हाँसो रोदनका पल आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु।

जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरूसँग सामना गरेकी छु’, उनले भनेकी छन्, ‘त्यसभित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ छु। अचानोको पीडा खुकुरीलाई थाहा हुन्‍न भनेझैँ समयको दुष्चक्रले ममाथि गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेका पीडाहरु केवल मलाई मात्र थाहा छ।’

 

श्‍वेताले हिम्मत हारेर मर्नुभन्दा हिम्मतका साथ अघि बढ्ने अठोट आफूले गरेको बताएकी छन्। ‘के म यसो गर्न सकुँला र?’आफैसँग प्रश्‍न गर्थें। आफ्नै प्रश्‍नमा आफैले उत्तर दिन्थेँ ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ,’ उनले अगाडि थपेकी छन्, ‘अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजेँ। जिन्दगीका हरेक समस्यासँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ।’

 

उनले जीवनको नयाँ यात्रा तय गर्ने क्रममा अतीतलाई भुल्न नसक्ने बताएकी छन्। ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन’,

उनले अगाडि लेखेकी छन्, ‘तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीहरुसँग, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकले प्रदान गर्नु भएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिन सफल भएकी छु।

उनले श्रीकृष्णको निधनपछि एकल बनेको आफ्नो जीवनमा नयाँ सहयात्री पाएको उल्लेख गरेकी छन्। ‘आज मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु ।

 

मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु’, उनले भनेकी छन्, ‘म जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु।’