Ultimate magazine theme for WordPress.

नेकपामा को भिलेन ?

87

काठमाडौं । सत्तारुढ नेकपा आन्तरिक विवादमा फसिरहेको महिनौँ भयो । विवाद क्षणिक रुपमा समाधान हुँदै बल्झिरहेका छन् । तर, यसरी विवाद बल्झिँदा फरक फरक नेताहरु चर्चामा आउने गरेका छन्, अर्थात विवादको कारकको रुपमा नेताहरुको नाम फेरिएको छ ।

राजनीतिक स्थायित्वका लागि दुई तिहाइ नजिक बहुतम ल्याएको नेकपा आन्तरिक विवादमा फसिरहँदा जनतामा राजनीतिप्रतिको वितृष्णाको ग्राफ बढिरहेको छ ।

गत फागुनदेखि सतहमै देखिएको नेकपा विवादमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतम केन्द्रविन्दुमा परिरहेका छन् । गौतम राष्ट्रिय सभा सदस्य बनिसकेपछि उनी विवादको केन्द्रभागमा पर्न छाडेका छन् । अदालतले उनलाई मन्त्री बन्न बाटो खोलिदिएको छ ।

ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी 

यस्तै गत कात्तिक २८ गते केन्द्रीय सचिवालयमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि ओलीसँग बढेको दूरी झनै बढाएको छ । यसको जवाफमा मंसिर १३ गते ओलीले सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गरे । दुवै अध्यक्षको प्रतिवेदनमा एकअर्कालाई पार्टीको बद्नाम गराउन र चरित्र हत्या गर्न लागिपरेको गम्भीर आरोप लगाइएको छ ।

प्रचण्डको प्रस्तावमाथि हुने छलफल र बैठकमा आफू सहभागी नहुने अध्यक्ष ओलीले स्थायी कमिटीमा पत्र पठाएर जानकारी गराएका छन् । तर, पानी बराबरको अवस्थामा पुग्न लागेका अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भयो ।

उनीहरुबीच नेता माधवकुमार नेपालको राजनीतिक चरित्र र स्वभावबारे छलफल भयो । दुई अध्यक्षको सम्बन्ध बिगार्न नेता नेपालको हात रहेको टिप्पणी भइरहँदा बुधबारको भेटवार्तामा ओली र प्रचण्डबीच नेता नेपालको राजनीतिक चरित्र र स्वभावकाबारे छलफल भएको समाचार आइरहेका छन् ।

 

पार्टीको उत्कर्षमा पुगेको विवाद स्थायी कमिटी बैठकमा एजेन्डा बनेका बेला ओली र प्रचण्डबीच नेता नेपालको राजनीतिक चरित्रमाथि विवाद भएको थियो । बुधबार ओलीले नेता नेपालसँगको सहकार्य तोड्न प्रचण्डसँग प्रस्ताव गरे । नेता नेपाल धेरै धोकेबाज रहेको धोका खाएपछि मात्रै चाल पाउने भन्दै ओलीले नेता नेपालसँगको सहकार्य तोडेर आफूसँग नयाँ समझदारी बनाएर अघि बढ्न प्रचण्डसँग प्रस्ताव गरेका हुन् । तर, प्रचण्डले नेता नेपालको बचाउ गरे ।

ओलीलाई जवाफ दिँदै प्रचण्डले नेता नेपालसँग पञ्चायत कालदेखि नै सहकार्य गरेकाले तोड्न नसकिने बताए । उल्टै ओलीबाट अहिले धोका भएको बताउँदै प्रचण्डले भने, ‘ उहाँ (नेता नेपाल) तपाईंजस्तो रिजिक्टचाहिँ हुनुहुन्न । तपाईंले पार्टी एकतादेखि धोका दिएको–दियै हुनुहुन्छ, भविष्यमा धोका हुन्छ भनेर उल्टै मलाई सम्झाउनुहुन्छ । यसो गर्नुको कुनै अर्थ छैन ।’ नेता नेपालसँग सम्बन्ध तोड्न ओलीले प्रचण्डसँग बारम्बार प्रस्ताव गर्दै आएका छन् ।

माधवले धोका दिन्छन्, हामी मिलौं प्रचण्डलाई ओलीको प्रस्ताव 

प्रचण्डसँग सम्बन्ध बिग्रनुमा नेता नेपालको भूमिका देखेका ओलीमाथि उल्टै प्रचण्डले आफूलाई धोका दिएको आरोप लगाए । अर्थात नेकपाभित्र एकअर्कालाई भिलेन देख्ने प्रवृत्तिले जनतामा राजनीतिप्रतिको वितृष्णा बढाइरहेको छ । उत्साहका साथ नेकपालाई भारी बहुमत दिएका जनता नेकपाको आन्तरिक म्याराथन विवादले निराश बन्न थालेका छन् ।

कोरोनाको महामारीसँगै नेकपाको विवाद उत्कर्षमा पुगे पनि समाधान हुन सकेको छैन । विवाद बढ्नुमा नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फ एकअर्कामाथि गम्भीर आरोप लगाइरहेका छन् । निषेधको व्यवहारले नेकपाभित्र विवाद समाधान हुन सकेको छैन ।