Ultimate magazine theme for WordPress.

नेताहरुको कर्तुत खुल्दै, अब कसको भिडिओ सार्वजनिक हुने पालो ?

318

काठमाडौं । दिनभर मिहेनत गर्दा बिहान बेलुकको छाक टार्न जनतालाई धौ धौ छ । तर, दिनभर भेटघाट र घुमफिरमा समय बिताउने नेताहरुको जीवनशैलीले सबैलाई सशंकित तुल्याउँदै आएको छ । काम गरेर दुई छाक खान जनतालाई गाह्रो परिरहँदा उद्योग व्यवसाय र रोजगारी नभएका नेताहरु करोडौँ रुपैयाँ पर्ने गाडीमा चढेर हिँड्ने गरेका छन् ।

एक जोर राम्रो कपडा किन्न नसक्ने नेताहरु एक दशक नबित्दै काठमाडौंमा घर र महङ्गो गाडी तथा आसेपासेहरुको जीवन गुजराको व्यवस्था गर्न सक्ने हुन्छन् । आखिरी कसरी ? यसको विश्वसनीय उत्तर कहिल्यै आएन ।

बरु नेताहरुको कमिसन बार्गेनिङका अडिओ र भिडिओ सार्वजनिक हुन थालेका छन् । गत फागुनमा क्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन माग गरेको भनिएको अडिओ टेप सार्वजनिक भएलगत्तै सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो । यसबारे न्यायालयमा मुद्दा विचाराधीन रहेको छ ।

नेकपाका नेतासमेत रहेका बाँस्कोटामाथि ७० करोड कमिशन मागेको आरोप लागेको १० महिनापछि मंसिर २६ नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ विवादमा परेका छन् ।

नेकपा केन्द्रीय कमिटीका सदस्य तथा पूर्व सांसद एवं राजदुत कमानसिंह लामाको निधन लगत्तै प्रवक्ता श्रेष्ठ विवादमा परेका हुन् । श्रेष्ठ र लामाबीको दुई करोड रुपैयाँको शेयर कारोवारको विषयमा भएको कुराकानीको भिडिओ सार्वजनिक भएको हो ।

भिडियोमा लामाले नारायणकाजीसँग साढे दुई करोडको हिसाब खोजेको देख्न सकिन्छ ।

लामाले श्रेष्ठनिकट मानिने सुसन कर्माचार्यलाई साढे करोड रुपैयाँ बैंकबाट ब्याजमा लिएर उक्त रकमको सेयर दिएको तर आफूले पैसा नपाएको गुनासो गरेका छन् ।

एक हाइड्रोको सेयर सुसनलाई दिएको तर उक्त सेयर बापत पैसा नपाएको भन्दै उठाइ दिन आग्रह गरेको भिडिओमा देख्न सकिन्छ । यसको वास्तविकता खुल्दै जाला, तर नेताहरु एकपछि अर्काे लेनदेनको विवादमा फसिरहँदा राजनीति भित्रको भ्रष्टीकरण जनतामाझ छर्लङ्ग हुन थालेको छ । राजनीति व्यवसाय होइन, सेवामुखी हो ।

तर, नेताहरु मुनाफामा गएको उद्योगको मालिकको भन्दा कम छैन जीवनशैली । राजनीतिभित्रको भ्रष्टीकरणमास संलग्न, माफियाको संरक्षक रहेको आरोप लागिरहँदा नेता अडिओ र भिडिओ सार्वजनिक हुन थालेको छ । करोडौँ रुपैयाँ खर्चिएर चुनाव लड्ने नेताहरुको आयस्रोत देखिँदैन ।

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद बढिरहँदा प्रवक्ता श्रेष्ठमाथि सो आरोप लागेको हो । कमिशन बार्गेनिङको भिडिओ सार्वजनिक हुन थालेपछि अन्य केही नेताहरु पनि त्रसित बन्न थालेका छन् ।