Ultimate magazine theme for WordPress.

नेकपा विवादको चूरो: २० अर्ब रुपैयाँ घोटाला

207

काठमाडौं ।  सत्तारुढ दल नेकपाभित्र अहिले चलिरहेको चर्को विवादको मुख्य कारण पनि त्यही फायल नै हो भन्ने ठोकुवा गर्छन् ती पूर्व अधिकारी । संवैधानिक परिषद्को विषयमा अहिले भइरहेको विवाद र अध्यादेश प्रकरणको मुख्य कारण यसैलाई मानिएको छ ।

यतिबेला नेपाली राजनीतिमा चर्को उथलपुथल आएको देखिन्छ । ‘त्यो उथलपुथल ल्याउने काम गरिरहेको छ एउटा फायलले’ भन्छन् अनुसन्धानमा पोख्त एक पूर्व सरकारी अधिकारी ।

अख्तिार दुरुपयोग अनुसन्धान आयोगमा थन्किएर रहेको भनिएको त्यो फायलले नेपाली राजनीतिलाई निरन्तर प्रभावित गरिरहेको छ । तर, मुख्य नेताहरु कोही पनि त्यो फायलका बारेमा एक शब्द बोल्दैनन् वा बोल्नुलाई जोखिम मान्छन् ।

माओवादी लडाकूलाई विभिन्न शिविरमा राखेको अवधिमा उनीहरुको भरणपोषण लगायतका लागि आवश्यक खर्च गर्न भनी नेपाल सरकारको बजेटबाट खर्च गरिएको अर्बौं रुपैंयाँमा घोटाला भएको भनी आयोगमा उजुरी परेको थियो । तर त्यसबारेमा एकरत्ति पनि कार्वाही नभएको भनी बेलाबेलामा चर्चा हुने गरेको छ । तत्कालिन माओवादी नेता तथा माओवादी आवरणमै प्रधानमन्त्री भैसकेका डाक्टर बाबुराम भट्टराई समेतले लडाकूको निमित्त भएको खर्चमा घोटाला भएको भनी सार्वजनिक रुपमै आलोचना गरिसकेका छन् ।

करिब २० अर्ब रुपैयाँ घोटाला गरिएको भनिएको फायल सदाका लागि गायब गर्ने या बन्द गर्ने उद्देश्य साथ नेपाली राजनीतिमा बारम्बार गडबडी गरिँदै आएको छ । त्यो फायल खुल्दा धेरैजनालाई हतकडी लाग्ने चर्चा नचलेको पनि होइन ।

तर अख्तियारमा पुगेका कुनै पनि प्रमुखले निम्सरा कर्मचारी तर्साउने बाहेक यस्ता ठूला फायलमा नजर पनि लगाउने हिम्मत गरेनन् । अहिले सत्तारुढ दलको विवादमा यो फायल मुख्य मुद्दा रहेको बताईन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तर्साउन नै यो फायल अघि बढाउन सक्ने भरपर्दो पात्रलाई अख्तियारको साँचो जिम्मा लाउन खोजेको जानकार सूत्रहरुको दावी छ । मंगलबारको संवैधानिक परिषद बैठकमा सभामुख अग्नी सापकोटालाई उपस्थित हुन प्रचण्डले रोक्नुको मुख्य कारण पनि यसैलाई मानिएको छ ।

माओवादी ‘जनयुद्ध’ स्थागित गरेर प्रचण्डहरु शान्ति प्रक्रियामा आएका हुन् । त्यसपछि माओवादी लडाकूहरुलाई देशका विभिन्न ठाउँमा शिविर बनाएर राखिएको थियो । तिनै शिविरमा भएको घोटालाले प्रचण्डको पिछा नछाडेको देखिन्छ ।

नेपालको इतिहासमा सर्वाधिक ठूलो र खुलेआम गरिएको घोटाला यसैलाई मानिन्छ । यो घोटालाको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले पनि पूरा गर्न सकिरहेको छैन । आयोगले ०७४ भदौमा एक पत्रकार सम्मेलन गरी शिविर घोटाला काण्डको अनुसन्धान अगाडि बढाएको घोषणा गरेको थियो । तर, प्रचण्डको प्रभाव र दवाबमा आयोगले त्यो अनुसन्धानलाई निष्कर्षमा पुर्याएर मुद्दा दर्ता गर्न आयोग किन हिच्किचाईरहेको छ भनेर सार्वजनिक रुपमै प्रश्न उठ्ने गरेको छ ।

 

ती लडाकूलाई ०६३ मंसिरदेखि ०६५ भदौसम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिइएको थियो । ०६५ असोजबाट बढाएर मासिक पाँच हजार रुपैयाँ दिइयो । ०६८ साउनदेखि साढे ६ हजार बनाइयो । त्यसबेला प्रचण्ड र डा. बाबुराम भट्टराईहरु लडाकूको तलब बढाउन दवाब दिइरहेका हुन्थे । त्यसमा उनीहरु सफल पनि भएका थिए ।

त्यो तलबमा प्रचण्ड र बाबुरामहरुले दुई तरिकाले घोटाला गर्ने गरेको अनुसन्धानमा देखिएको जानकार एक सूत्रले बताएको छ । पहिलो तरिका हो– हुँदै नभएका लडाकूको नाममा तलब थाप्ने । कागजमा विभिन्न नक्कली नाम हाल्ने, ती नामलाई तलब दिएको भनेर फर्जी कागजात खडा गरिएको देखिएका छ ।

‘साँढे १९ हजार मध्ये आधा लडाकू नक्कली थिए । अर्थात्, उनीहरुको नाम कागजमा मात्र थियो’– जानकारहरु भन्छन् । ६ वर्षसम्म निरन्तर तलब भत्ताका नाममा लुट मच्चाईएको दावी गरिन्छ ।

यसबाहेक पनि शिविर व्यवस्थापन, राशन, शिविरमा भौतिक निर्माण लगायतका शीर्षकमा अर्बौं रुपैयाँ सरकारबाट असुलिएको थियो ।

संवैधानिक परिषद्ले अख्तियार सहित सबै संवैधानिक नियुक्तिमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्छ । अख्तियारमा आफ्नो ‘यस म्यान’ लाई नियुक्त गर्ने र आफ्ना विरुध्दका भ्रष्टाचारका फायल दबाएरै राख्ने नियत देखिन्छ ।

‘संवैधानिक परिषद्ले आफ्ना विश्वासपात्र बाहेक अरुलाई अख्तियारमा पठायो भने शिविर घोटालाको फायल खुल्ने डर प्रचण्डलाई छ । जसरी हुन्छ त्यो फायल खुल्न नदिने अथवा सदाका लागि बन्द गर्ने उद्देश्यले प्रचण्डका हरेक राजनीतिक कदम चलिरहेको देखिन्छ ।’ नेकपाका पूर्व एमाले पक्षका एक नेता भन्छन् ।

सत्तारुढ नेकपाका नेताहरुको आपसी झगडाले पनि त्यो फायल थन्किएर बसेको छ, आपसी मिलेमतोमा पनि थन्किएरै बसेको थियो । अब त्यो फायल कहिले खुल्छ ? कसैलाई थाहा छैन । तर, त्यो फायलका कारण राजनीतिक प्रदूषण भने बढेको बढ्यै छ ।

माओवादीले शान्ति प्रकृयामा आउँदा आफूसँग ३२ हजार दुई सय ५० लडाकू छन् भनेको थियो । ती लडाकूको प्रमाणिकारण राष्ट्रसंघीय मिशन अनमिनले गरेको थियो । अनमिनको प्रमाणिकारणमा १९ हजार पाँच सय मात्र लडाकू प्रमाणित भएका थिए । अर्काे चरणमा १७ हजार ७४ लडाकू मात्र प्रमाणित भएका थिए