Ultimate magazine theme for WordPress.

मन्त्री विश्वकर्मा : ज्ञान र सीप लिएर स्वदेश फर्कन युवाहरुलाई आग्रह गर्दछु

234

बेल्जियम,४ पुष ।

‘गैरआवासीय युवाको पहिचान सामाजिक, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर यूरोप क्षेत्रका ५ वटा एनसीसीका युवा संयोजकहरुले सामाजिक क्रियाकलापमा हातेमालो गर्दै आज डिसेम्बर १९ तारिख शनिबारका दिन भच्र्युअल रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा युरोप भित्रका विभिन्न देशका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रम पूर्णरुपमा कलरफुल स्याडोजको प्रोजेक्टको लागि केही आर्थिक सहयोग संकलन गर्ने पनि ब्याकग्राउण्डको योजना रहेको कार्यक्रमका जिम्मेवार व्यक्तिले जानकारी गराए ।

कबोल गरिएको रकम डिसेम्बर २५ तारिखभित्र एनआरएन एनसीसी डेनमार्कको खातामा जम्मा गरिदिनका लागि पनि अनुरोध गरिएको छ । कार्यक्रममा ५ वटै एनसीसीका पदाधिकारीहरु र अन्य धेरै सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

विभिन्न एनसीसीका अध्यक्ष, युवा संयोजक र अन्य पदाधिकारीहरुको विशेष पहलमा सुरु भएको यस प्रकारको सामाजिक क्रियाकलापले यूरोपमा एउटा छुट्टै उचाई लिने कार्यक्रम हुनसक्ने अनुमान गर्न थालिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार बिश्वकर्माको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त र युवा संयोजक हिमाल गुरुङ पनि उपस्थित थिए ।

कार्यक्रममा ब्लाइन्ड रक्सकी संस्थापक श्रृष्टि केसी र डेनमार्कबाट कलरफुल स्याडोजकी संस्थापक अनुजा गौतमले आ–आफ्ना प्रतिबेदन प्रस्तुत गर्दै सहभागीहरुलाई आकर्षित बनाएका थिए ।

आफ्नो प्रस्तुति राख्दै अनुजा गौतमले महिला भएकै कारण त्यसमा पनि अपाङ्ग हुनुपरेको अवस्थामा समाजले हेर्ने दृश्टिकोण बदल्नुपर्ने र राज्यले आत्मनिर्भर, काम र शिक्षामा समान अवसर दिनुपर्ने औंल्याइन् ।

उनले सन् २०१६ मा स्थापना गरिएको कलरफुल स्याडोज २०१६ कै एनआरएनको युरोपियन भेलामा प्रस्तुत गरेको प्रस्तुतिकणबाट पाएको माया सदा रहिरहने भन्दै बताइन् ।

जीवन मरण एउटा चक्र भएको र युवाहरुको तीन वटा सी (च्यालेन्ज, चान्सेज र चेन्ज)ले युवाहरुलाई अवसर प्राप्त हुनेमा दुई मत नरहेको र युवा एकतामा बल हुने भन्दै युवाहरुमा मन र मुटु देखिने सपना देख्न ब्लाइन्ड रक्सकी सृस्टि केसीले आग्रह गरिन् ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले नयाँ नेपाल निर्माणमा युवाहरुको सहभागितामा अपरिहार्य रहेको बताए । युवाहरुले आ–आफ्नो सीप र ज्ञान बोकेर मातृभूमि फर्कन आग्रह गर्दै नेपाल सरकारले युवाहरुका लागि अवसरका सिर्जनाहरु गरेको जनाकारी गराए ।

त्यसैगरी एनआरएन आईसीसी केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका राजदूत युबनाथ लम्साल, एनआरएन आईसीसी युवा संयोजक हिमाल गुरुङ र पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नेपाली समय १७ः४५ मा सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता यूके एनसीसीका अध्यक्ष पुनम गुरुङले गरेकी थिइन । स्वागत मन्तब्य एनसीसी आयाल्र्यान्ड्सका अध्यक्ष मिलन छन्त्यालले गरेका थिए । यता कार्यक्रमको सञ्चालन अष्ट्रियाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए ।