कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन् । कलाकार श्रेष्ठले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फत सरकारलाई त्यस्तो आग्रह गरेका हुन् ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका थिए ।
राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो । प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ । प्रधानमन्त्री नै कुलमानलाई दोहोर्याउन इच्छुक छैनन् । जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ ।
उनले एउटा सांसद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुनाव जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चुनाव जित्छन् भन्दै सरकारले बेलैमा निर्णय गरोस् भन्दै आग्रह गरेका छन् ।हिमाल देखि तराई, मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि कुलमानले जित्ने श्रेष्ठको भनाई छ।
उनले लेखेका छन्, “एउटा जिल्लाको मत प्राप् गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ। तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ ।
जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचित हुने निश्चीत देखिन्छ।” जनताको मन जित्ने नजित्ने हो भने जनादेशलाई सम्मान गरेर कुलमानलाई पुनर्नियुक्त गर्नुपर्ने उनको भनाई छ।
“अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोडसेडिङमुक्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है।”श्रेष्ठले फेसबुकमा थप लेखेका छन्। दर्पन नेपालबाट साभार गरिएको हो।