काठमाडौँ। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका सभापति जीतजंग बस्नेतले संविधान नै नरहने चिन्ता प्रकट गरेका छन्। बस्नेतले व्यवस्था नै पल्टिन लाग्यो भन्नेहरुको आचरण र दिइरहेका धम्की देख्दा संविधान नै नरहने हो कि भन्ने चिन्ता लागेको बताएका हुन्।
संक्षिप्त कुराकानी गर्दै बस्नेतले भने, ‘मलाई त संविधान नै नरहने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। संविधान अन्तर्गत नै रहेको न्यायपालिका माथि भइरहेको नियोजित प्रहार। सडकबाट दिइएका ध’ म्की हेर्दा यो संविधानलाई असफल बनाउने नियोजित कर्म भइरहे जस्तो लाग्छ।’
बस्नेतले चार पूर्वप्रधानन्यायाधीसको वक्तव्यवाजी ‘अनैतिक’ भएको बताए। उनीहरुको वक्तव्य अदालत माथि धम्कीपूर्ण किसिमको रहेको पनि उनको ठम्याई छ। उनले भने, ‘पूर्वप्रधानन्यायाधीसहरुले जसरी हामी भएको भए यस्तो गर्थ्यौ भन्ने शैलीमा विज्ञप्ती निकाल्नु भएको छ, त्यो अ नै तिक छ।
ध’ म्की पूर्ण छ।’ बस्नेतले आफ्ना विचारहरु सबैले दिन पाए पनि सडकबाट नै निर्णय सुनाउनु स्वतन्त्र न्यायपालिकाको सिद्धान्तको प्रतिकुल भएको पनि बताए। उनले भने, ‘विचारहरु प्रकट गर्न पाइन्छ तर त्यसो भन्दैमा ‘भर्डिक्ट’ नै दिनु त भएन नि!’
बस्नेतले तत्कालिन महाराजधिराजको निर्णय त उल्टाउने अदालतले विवेक सम्मत निर्णय गर्दैन भनेर सडकमा कुर्लिनुको कुनै औचित्य नभएको बताए।
‘महाराजधिराजको शाही आयोग त खारेज गरेर नेपाली काँग्रेसका नेताहरुलाई न्याय दिएको अदालतले अहिले विवेकसम्मत निर्णय गर्दैन भन्ने ठाउँ नै छैन,’ उनले भने। बस्नेतले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी भित्रैबाट नियोजित प्रहार भइरहेको पनि गुनासो गरे।
काँग्रेसलाई नेकपा मिल्नु भन्दा फुट्दा नै फाइदा हुने बताए। उनले भने, ‘कम्युनिष्टहरु एकै ठाउँमा हुँदा नेपाली काँग्रेसले नेतृत्व गर्ने स्थिति बन्न गार्हो थियो। हाम्रो भोटर बेस बढ्न गार्हो छ। त्यहि सन्दर्भमा कम्युनिष्ट फुटे। अब हामीले आफ्नो स्वार्थ हेर्ने कि कम्युनिष्टलाई जुटाउन तिर लाग्ने?’
बस्नेतले केन्द्रिय समिति सदस्य गगन कुमार थापाको नाम नलिई उनको आचरण हेर्दा वीपीको अनुयायी भन्दा पनि कम्युनिष्ट चरित्र भएको गैर काँग्रेसी भएको टिप्पणी गरेका छन्। अत्यन्तै आक्रामक लेखमा उनले लेखेका छन्, ‘आफूलाई बीपी कोइरालाको कार्यकर्ता हुँ भन्नेले बीपीले स्वतन्त्र न्यायालयका लागि गरेको सङ्घर्ष भुलेका छन्।
अदातललाई सार्वजनिक रूपमा चुनौती दिने व्यक्ति बीपीको कार्यकर्ता हुन सक्दैन। त्यो व्यक्ति एउटा कम्युनिस्ट चरित्र बोकेको गैरकाँग्रेसको कार्यकर्ता हुन सक्छ।’ बस्नेतले काँग्रेस भित्रका केहि युवा नेताहरुमा प्रचण्ड भक्ति व्याप्त रहेको बताए। उनले भने, ‘जहिले पनि प्रचण्डलाई काध थाप्ने? उनीहरु जंगल हुँदा पनि उनको एजेण्डा बोक्ने। अहिले प्रचण्ड कमजोर भए भनेर हामीले आन्दोलन गरिदिनुपर्ने?
काँग्रेसले आफ्नो स्वार्थ हेर्ने कि प्रचण्डको? प्रचण्डको पक्षमा आन्दोलन गरेन भनेर सभापतिको हुर्मत लिने?’
बस्नेतले थापा लगायतका नेताले हिरोइजमको राजनीति गरेको आरोप लगाएका छन्। उनले भने, ‘नेपाली काँग्रेसमा इतिहास र अघिल्लो पुस्ताका नेताहरूप्रति सामान्य आदरभाव पनि नदेखाउने सधैँ नेतृत्वको विरोधमा रमाउने, छलछामको बाटो र ‘हिरोइज्म’को राजनीति हाबी हुनु दुःखद हो।
मबाहेक अरू नेता नै होइनन्, काँग्रेस भनेकै म हो, मैले मात्रै सबै जानेको छु, बुझेको छु, अरू सबै बज्रस्वाँठ हुन भन्ने खालका प्रवृत्ति पछिल्लो समय केही युवा नेताहरूमा हाबी भएको देखिन्छ।’ बस्नेतले लेखेको लेखमा नेता थापामाथि प्रश्नको वर्षा नै गरेका छन्। उनले गलत नियतबाट पार्टी सभापतिको विरोध भइरहेको तर्फ प्रश्नहरु मार्फत संकेत गरेका छन्। उनले भने,
‘पार्टीको लाइनविपरीत बोल्ने र पार्टीले ‘मलाई कारबाही गरे गरोस्’ भन्ने तथा अदालतविरुद्ध बोल्ने अनि मानहानिको मुद्दामा ‘मलाई पनि पूर्वन्यायायाधीश जस्तै बोलावट होस्’ भन्ने भनाइ कुन नियतबाट आएको हो? न्यायाधीशहरूलाई ‘चार किल्लाभित्र बसेर दायाँबायाँ, तलमाथि कतै पनि नहेरी संसद् पुनस्र्थापन गर’ भन्न लोकतन्त्रवादीलाई कुन सिद्धान्त र आदर्शबाट मिल्छ?’ बस्नेतले थापालाई लक्षित गर्दै आफू धेरै नै लोकप्रिय छु भन्ने लाग्छ भने अर्को पार्टी खोलेर आउन पनि चु’नौ’ती दिएका छन्।
‘पार्टीका सिद्धान्त हुन्छन्, विधि विधान हुन्छन् र अनुशासन पनि हुन्छ।
कुनै नेतालाई आफू साह्रै नै लोकप्रिय छु भन्ने लाग्छ भने नयाँ पार्टी खोलेर अध्यक्ष हुने अधिकार पनि छ। चुनाव जितेर प्रधानमन्त्री बन्ने अधिकार पनि छ,’ भन्दै बस्नेतले भने, ‘तर काँग्रेसभित्र बसेर काँग्रेसलाई नै सिध्याउने र कम्युनिस्टलाई फाइदा हुने काम गर्नु भने कदापि राम्रो होइन। एउटा असल नेताले नैतिकता छ भने ‘लढ्ढु काग्रेस’ घोषणा गर्नेले त्यसकै मनोनीत केन्द्रीय सदस्यमा बसिरहने कि भन्नेमा पनि सोच्नुपर्छ।’
बस्नेतले नेपाली काँग्रेसको काधमा ठूलो जिम्मेवारी आएको पनि बताएका छन्। उनले लोकतन्त्र र संविधानको रक्षार्थ काँग्रेसले अति नै संयम भएर अघि बढ्नु पर्ने बताए। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि निर्वाचन गराउने स्थितिमा पुर्याउने जिम्मेवारी नै काँग्रेसको भएको तर्क उनले प्रस्तुत गरे।
उनले भने, ‘केपी ओलीलाई तानेर चुनाव गराउनु पर्ने दायित्व काँग्रेसको काँधमा छ। संविधान जोगाउनु पर्ने छ। अहिलेको कम्युनिष्टहरुले ल्याएको अराजकताबाट देशलाई छुटकारा दिनु पर्ने छ।’ स्रोत : नेपाल दीप