Ultimate magazine theme for WordPress.

एमाले पार्टी विभाजन भयो : माधव नेपाल

520

नेकपा

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी विभाजनतिर पुगेको बताएका छन् ।

शनिबार बसेको नेपाल पक्षका सांसदसहितको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा उनले अब ओलीसँग फर्किने सम्भावना नरहेको बताएका हुन् ।

‘फागुन ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्नँ’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग–अलग ढंगले जान्छौँ ।’

नेपालले तल्लो तहसम्म आफूहरुको पक्षमा माहोल रहेको दाबी गर्दै देशभरबाट नेता–कार्यकर्ताले आफूहरुलाई साथ दिने वचन दिएको बताए ।

आजको केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित भएको दाबी गर्दै नेपालले भने, ‘ चमत्कार नै भए मात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’

सांसदहरुले लोगो छुटाउन तयार रहेको तर साथ नछाड्ने वचन दिएको पनि उनले सुनाए । एमालेको मूलधार नै आफूहरु भएको दाबी गर्दै उनले अब बृहत् बाम एकताको पहल थालिने पनि बताए ।

अहिले आफू र झलनाथ खनाल सँगै रहेको र वामदेव गौतम पनि यो अभियानमा सहभागी हुने उनले दाबी गरे ।

उनले भने, ‘एमालेका बहुमत नेता–कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ ।’ आफूहरु मोहनविक्रम सिंहदेखि विप्लवसम्मलाई समेट्ने गरी अघि बढ्ने उनले बताए ।