काठमाडौं ।
पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ ।
उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन् ।
कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै घर बाहिर निस्कँदा सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने बताएका छन् ।
चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।
व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका
मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।
कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन,
आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ का कार्यलाई आवश्यकता अनुसार अघि बढाउने,
अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा रहन लगाउने निर्णय भएको उनले बताए ।