Ultimate magazine theme for WordPress.

ओलीलाई केन्द्रमा मात्र होइन, प्रदेशमा पनि आवश्यक छ जसपाको साथ

172

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सत्ता साझेदार बनाउन प्रयत्नरत छन् ।

संघीय सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको अवस्थामा सरकार अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्री ओलीले नयाँ सत्ता साझेदार दलको खोजी गर्ने क्रममा जसपा नेपालप्रति बढी झुकाव राख्न थालेका हुन् ।

जसपा नेपालले रेशम चौधरीसहित मधेस तथा थरूहट आन्दोलनका क्रममा गिरफ्तार गरिएका नेताहरुको रिहाइ, आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सार्दै आएको छ ।

ती माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

जसपा नेपालले पनि सत्ता साझेदारीका लागि पहिलो प्राथमिकतामा एमालेलाई नै राखेको छ । जसपा नेपालका नेताहरुले सत्ता साझेदारीका लागि पछिल्लो समय एमालेसँगकै छलफललाई महत्व दिएको पाइन्छ ।

जसपा नेपालको साथबाट ओलीलाई कति फाइदा ?

जसपा नेपालको समर्थन हासिल गरेको अवस्थामा ओली नेतृत्वकै सरकारको स्थायित्व सुनिश्चित देखिन्छ । एमाले र जसपा नेपालबीच सत्ता साझेदारी भए संसदीय अंकगणितमा सहजै बहुमत जुट्ने देखिन्छ ।

यस अतिरिक्त एमाले नेतृत्वकै सरकार रहेको लुम्बिनी प्रदेशमा पनि जसपा नेपालसँगको सहकार्यबाट प्रदेश सरकारले स्थायित्व पाउन सक्छ । लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसदमध्ये एमालेसँग ४१ सांसद छन् ।

सो प्रदेशमा ६ सीट रहेको जसपा नेपालले एमालेलाई साथ दिएको अवस्थामा प्रदेश सरकार टिकाउनका लागि आवश्यक बहुमत अर्थात् ४४ को आँकडा पार हुन सक्छ ।

अर्कोतिर सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विस्थापित गरी एमालेको नेतृत्वमा सरकार बनाउनका लागि पनि एमाले र जसपा नेपालबीचको गठबन्धनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

सुदूरपश्चिम प्रदेशसभाको कुल ५३ सिटमध्ये नेकपा एमालेका २५ सांसद छन् । सो प्रदेशमा सरकार गठनका लागि न्यूनतम २७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा जसपा नेपालका दुई सांसद छन् ।

जसपा नेपालले एमालेलाई साथ दिएको अवस्थामा सो प्रदेशमा एमालेले सरकार बनाउन सक्छ । त्यसैले पनि ओलीले जसपा नेपालसँगको सहकार्यलाई बढी महत्त्व दिएका हुन् ।

एमालेको साथबाट जसपा नेपाललाई के फाइदा ?

त्यसो त, यतिबेला प्रतिनिधिसभाको अंकगणितमा जसपा नेपाल चमत्कारिक भूमिका निर्वाह गर्ने स्थानमा छ । सो दलले एमाले नेतृत्वको सरकारलाई टिकाइरहने वा विकल्पमा विपक्षी गठबन्धनबाट सरकार बनाउने भन्नेबारे निर्णायक भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

तर काँग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा सामेल हुनुभन्दा जसपा नेपालका लागि नेकपा एमालेसँगको सहकार्यमै बढी फाइदा हुने जानकारहरुको भनाइ छ ।

एमालेसँग सत्ता साझेदारी गर्दा जसपा नेपालले प्रतिनिधिसभाको उपसभामुख पदसहित सरकारमा १० जनासम्मलाई सहभागी गराउन सक्ने अवस्था देखिन्छ ।

अर्कोतिर, काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सामेल भएको अवस्थामा तीन दलबीच भागवण्डा गर्नुपर्ने र २५ सदस्यीय मन्त्रिपरिषदमा तीन दलबीच भागवण्डा गर्दा बढीमा एउटा दलले ८ वटा मन्त्रालयमात्र पाउने सम्भावना देखिन्छ ।

अर्कोतिर विपक्षी गठबन्धनमा जसपा नेपालले उपसभामुख पाउने सुनिश्चितता रहँदैन । तर एमालेसँगको गठबन्धनमा उसलाई ओलीले सहजै उपसभामुख पद दिन सक्छन् ।

त्यस्तै, प्रदेशका सवालमा पनि जसपा नेपालले सत्ता साझेदारीका क्रममा एमालेबाट पाउने भागवण्डाको तुलनामा तीन दलबीच हुने गठबन्धनमा पाउने भागवण्डा तुलनात्मक रुपमा कम नै हुन्छ ।

त्यसैले पनि जसपा नेपालले पछिल्लो समय एमालेसँगको छलफललाई बढी महत्त्व दिएको जानकारहरुको भनाइ छ ।