Ultimate magazine theme for WordPress.

यस्ता छन् शेयर लगानीमा ध्यान दिनुपर्ने पक्ष

387

लगानी भनेको त्यस्तो वस्तु वा सम्पत्तिको खरीद हो जसको उद्देश्य आम्दानी गर्नु अथवा समयानुकूल सम्पत्तिको मूल्य बढ्दै जानु हो ।

उदाहरणका लागि शेयर, ऋणपत्र, ट्रेजरी, बन्ड, म्युचुअल फन्ड, सुन वा चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरू किनेर राख्नुलाई लगानी गरिएको मानिन्छ ।

शेयरबजारमा लगानी गर्नु भनेको मुनाफा सुनिश्चित गर्दै लगानीलाई फराकिलो बनाउँदै लैजानु होे ।

शेयर लगानीमा अन्तर्निहित सम्पत्ति हुन्छ जुन लगानीकर्ताले आफूले चाहेको समयसम्म आफ्नो स्वामित्वमा राख्न सक्छ र आफूले चाहेकोे बेलामा त्यसलाई बेचेर तुरुन्त पैसामा रूपान्तरण गर्न सक्छ ।

आज बजार मूल्य प्रतिकित्ता रू.२० हजार भएको कुनै शेयरको चुक्ता रकम रू.१०० बाटै बढेर त्यहाँसम्म आइपुगेको हो ।

चुक्ता रकम मात्र उत्पादक लगानी हो र बाँकी रू. १९ हजार ९०० अनुत्पादक लगानी हो भन्ने बुझाइरह्यो भने दोस्रो बजार नबुझेको वा शेयरको बजार मूल्य नबुझेको भन्न सकिन्छ ।

शेयरको बजार मूल्य भनेको कुनै कम्पनीले वर्ष गर्ने उत्पादकत्वलाई आजको मूल्यमा गरिएको मौद्रिक रूपान्तरण हो ।

पुंजीबजारले यो मौद्रिक रूपान्तरणलाई किनबेच हुने व्यवस्था गरेर तरलता प्रदान गरेको छ ।

कुनै कम्पनीको भविष्यमा उत्पादकत्व अरू बढ्दै जाने देखिएमा यसको बजार मूल्य बढ्ने सम्भावना रहन्छ ।

कुनै कम्पनीको उत्पादकत्व नहुने भए एक कित्ताका लागि बीसौं हजार रकम तिर्न तयार हुन्थेनन् ।

उत्पादकत्व नभएको कम्पनीका शेयर मूल्य झरेर अंकित मूल्यभन्दा तल पनि पुग्न सक्छ ।

त्यसैले शेयरको मूल्य सधैं अंकित मूल्यमा नै रहने हो भने यो कम्पनीले राम्रो उत्पादकत्व गरेको छैन भन्ने बुझ्नुपर्छ ।

कहिलेकाहीँ उत्पादकत्व कम भएका कम्पनीको शेयर मूल्य बढेको पनि देखिन्छ ।

बजार बुलिस् ट्रेन्डमा रहँदा र त्यो शेयरको माग लहडमा अधिक हुनुले क्षणिक समय मूल्य वृद्धि हुन सक्छ तर दिगो हुँदैन ।

पछिल्लो १ वर्षयता शेयरबजारमा नयाँ लगानीकर्ताको संख्या ह्वातै बढेको छ । शेयरबजारमा बुद्धिमान् लगानीकर्ता भएर लगानी गर्न सके मात्र सफल हुन सकिने सत्यलाई कसैले नकार्न सक्दैन ।

विभिन्न अध्ययन र सर्वेक्षणको रिपोर्टले देखाएको तथ्य हेर्दा शेयरबजारमा कमाउनेको भन्दा गुमाउनेको संख्या ज्यादा भएको उल्लेख गरिएको पाइन्छ । तसर्थ शेयरबजारमा लगानी गर्दा केही पक्षमा ख्याल राख्नुपर्छ ।

 

लगानीकर्ताले कुनै पनि शेयर किन्नुभन्दा पहिला ती कम्पनीको दीर्घकालीन विकास र व्यावसायिक सिद्धान्तहरूको विश्लेषण गर्नुपर्छ । कुनै शेयरको दीर्घकालीन मूल्य सोचेको जस्तो हुँदैन ।

खासमा त्यो कम्पनीले कपत्तको राम्रो प्रदर्शन गर्छ भन्नेमा निर्भर हुन्छ ।

त्यसैले कम्पनीको आर्थिक संरचना, त्यसको व्यवस्थापनको स्तर र कम्पनीको नियमित लाभांश अर्थात् लगानीकर्तालाई मुनाफाको कति भुक्तान गर्छ ? भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

अल्पकालीन मूल्यान्तर आयको चक्करमा पर्नु हुँदैन, बरु कम्पनीको वित्तीय इतिहास जाँचेर ठूलो सपना देख्न सकिन्छ । उदाहरणका लागि एउटा कम्पनी जो वर्तमान समयमा लोकप्रिय छैन ।

तर, आशाजनक रेकर्ड देखाउँछ, जसले लगातार लाभ आर्जन गरेको छ, त्यस कम्पनीलाई नियालेर गरिएको लगानि विवेकपूर्ण लगानी ठरहिन सक्छ ।

लागानीकर्ताले आफ्नो लगानीमा विविधता ल्याएर गम्भीर नोक्सानबाट आत्मरक्षा गर्न सक्छन् ।

महान् र सफल लगानीकर्ता वारेन बफेटले पनि भनेका छन् सबै पैसा एउटै शेयरमा नलगाउनुहोस् त्यो जति नै राम्रो किन नहोस् ।

तपाईंले किनेको शेयरवाला कम्पनी करछलीको काण्डमा समाचारमा देखियो भने लगानीको मूल्य तुरुन्त गुमाउनु पर्नेछ ।

लगानीकर्ताले यो ध्यान दिनुपर्छ कि विविधता ल्याउनाले एकैपटकमा सबैथोक गम्दैन ।

असाधारण मुनाफा अस्वाभाविक हुन्छ । मूल्यान्तरमा आकर्षित हुनुभन्दा सुरक्षित, नियमित र स्थिर प्रतिफलमा ध्यान केन्द्रित गर्ने लगानीकर्ता सफल हुन सक्छन् ।

लगानीकर्ताको मुख्य लक्ष्य उसले आफ्नो लगानीलाई फराकिलो बनाउँदै मुनाफा सुनिश्चित गर्दै लैजानु होे । लगानीकर्ताले उनीहरूको तुलनामा राम्रो गर्न सक्दैनन् जो जीवित रहनका लागि व्यापार गर्छन् ।

व्यक्तिको लक्ष्य तेज धन प्राप्तिका लागि हुनु हुँदैन, तेज धनको पछि लाग्नाले व्यक्तिलाई लालची र लापरवाह बनाइदिन्छ ।

लगानीकर्ताले बजारको इतिहासको महत्त्वलाई बुझ्नुपर्छ ।

लगानी गर्नुभन्दा पहिला त्यो स्टकको इतिहास मात्र हेर्नुभन्दा सम्पूर्ण शेयरबजारको इतिहासलाई पनि हेर्नु महत्त्वपूर्ण छ ।

इतिहासको माध्यमबाट पछिल्ला समय हेरेर थाह हुन्छ कि शेयरबजारलाई सधैं उतारचढावद्वारा परिभाषित गरिएको छ ।

उतारचढावलाई हटाउन सकिँदैन तर त्यसअनुसार लगानीकर्ताले आफूलाई आर्थिक र मनोवैज्ञानिक रूपमा तयार राख्न आवश्यक हुन्छ ।

विभिन्न समयमा आर्थिक संकट, मन्दी र काण्डहरू भइरहन्छन् ।

लगानीकर्ताले सुनिश्चित गर्नुपर्छ एउटा ठूलो झट्का खाँदा पनि जीवित रहन सकियोस् ।

त्यसैले लगानीकर्तासँग एउटा विविध स्टक पोर्टफोलियो हुनुपर्छ जसले गर्दा सबै लगानी एउटै बजारमा नआओस् ।

बजारका मुख्यतया तीन चाल हुन्छन् : उकालो, ओरालो र समतल । बजार समतल चालमा छ भने त्यो कम्पनीको इतिहासमा ध्यान दिनुपर्छ ।

उदाहरणका लागि पछिल्लो १० वर्षको शेयरको मूल्य, कम्पनीको कमाइ र लाभांश बीचको सम्बन्धमा ध्यान दिनुपर्छ । त्यसैगरी मुद्रास्फीति दरमा भएको वृद्धिमा विचार गर्नुपर्छ ।

कुनै व्यक्तिले १ वर्षभित्रको लगानीमा १२ प्रतिशत मुनाफाको गणना गछृ । मुद्रास्फीति दर ७ प्रतिशत छ भने उसले मात्र ५ प्रतिशतको प्रतिफल आर्जन गर्न सक्छ ।

यस बारेमा ध्यानसँग सोच्नुपर्छ कि, के यो ५ प्रतिशत प्रतिफल दिन सक्ने किसिमको कम्पनी छ त ?

शेयरबजार अस्थिर र बुद्धिहीन हुन्छ । बजार सजिलैसँग प्रभावित हुन्छ र यही कारण उनीहरूको मुड घुमिराख्छ ।

लगानीकर्ताले यसलाई यसरी देख्छ कि जसरी बजार सधैं अनुचित आशावाद र अनुचित निराशावादको बीचमा अघिपछि घुमिराख्छ ।

उदाहरणको लागि जब एउटा नयाँ हल्ला फैलन्छ तब मानिसहरू आफ्नो संवेदनशीलता गुमाउँछन् ।

यसको असर शेयरबजारमा देखिन्छ । जब मूल्य बढ्छ तब त्यस्ता मानिस अधिक भुक्तानको लागि तयार हुन्छन् ।

त्यो हल्लाले भविष्यको मुनाफा देखाउन खोज्छ वा नोक्सान । तर, त्यो सत्य हुँदैन । जब बजार भविष्यको विकासका बारेमा आशावादी हुन्छ र बजार बढ्ने संकेत देखिन्छ तब स्टक महँगो हुन्छ । कहिलेकाहीँ बजार बहुत निराशावादी हुन्छ ।

लगानीकर्तालाई अञ्जान परिस्थितिमै त्यसले बेच्न बाध्य पार्छ । यस्ता हल्लाका कारणले कुनै एक स्टकले एक निश्चित समयमा लाभ दिन्छ, तर सधैंको लागि लाभदायक हुन्छ भन्न छैन ।

जुन शेयरले राम्रो प्रदर्शन गरिरहेको छ, तिनको पनि निकट भविष्यमा मूल्य कम हुने अधिक सम्भावना हुन्छ । मागले अक्सर मूल्यलाई ब्रेकिङ पोइन्टसम्म पुर्‍याइदिन्छ ।

यो जान्दाजान्दै पनि केही लगानीकर्ता अस्थायी लाभमा लोभिने धेरै सम्भावना हुन्छ । शेयरबजारमा एउटा कुरा के याद राख्नुपर्छ भने लगानीकर्ता गल्ती नगरी पोख्त हुन सक्दैन ।

कहिलेकाहीँ बजार जानेबुझेको मान्छेले लगाएको अनुमान पनि धेरै खराब सावित हुन सक्छ । त्यसैले हामीले आर्थिक मन्दीको समय र खराब लगानीको कुरामा आफ्नो धनको सुरक्षाको लागि सीमा तय गर्नुपर्छ ।

यो पनि याद गर्नुपर्छ कि आउने फाइदाको प्रवाह बनाई राख्न लगानीकर्ताले आफ्नो पोर्टफोलियोको निरन्तर अनुसन्धान, निगरानी तथा छाँटकाट गर्नु आवश्यक पर्छ ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन् । उनको यो लेख आर्थिक अभियानबाट साभार गरिएको हो ।