Ultimate magazine theme for WordPress.

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

152

कर्णाली

प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ ।

अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।

नेपालगन्जबाट आपूर्ति हुने अक्सिजन आउन छाडेकाले कोरोनाका नयाँ बिरामी भर्ना दिन असमर्थ भएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा.डम्बर खड्काले जानकारी दिए ।

‘कर्णाली प्रदेश अस्पतालमा नेपालगन्जबाट अक्सिजन आउने गरेको थियो । तर, केही समयदेखि आउन छाडेको छ ।

अक्सिजन अभाव भएका कारण नयाँ कोरोनाका बिरामी भर्ना लिन सक्ने अवस्थामा छैनौँ,’ उनले भने ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा भए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको उनको भनाइ छ ।

‘अक्सिजन प्लान्ट सञ्चालनमा भए पनि त्यसले हाइफ्लो अक्सिजन दिन सक्दैन,’ उनले भने, ‘नेपालगन्जबाट अक्सिजन आउन छाडेको छ ।’

कर्णाली प्रदेश अस्पतालमा दैनिक दुई सयदेखि तीन सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने, तर हाल नेपालगन्जबाट ५० सिलिन्डर अक्सिजन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

जनशक्ति र बेड भए पनि अक्सिजन अभावकै कारण नयाँ भर्ना लिन नसकिने डा. खड्काले बताए ।

‘प्रशस्त मात्रामा अक्सिजन भए प्रदेश अस्पतालमा दुई सयजनासम्म कोरोनाका बिरामी राख्न सक्छौँ,’ उनले भने, ‘प्रदेश अस्पतालमा सयजना कोभिडका बिरामी थिए । यो संख्या अहिले घटेको छ ।’

प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट

कर्णाली प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । ती प्लान्टबाट हाइफ्लोमा अक्सिजन दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अक्सिजनको अभाव रहेको र अहिले प्लान्टबाटै धेरैजसोलाई अक्सिजन दिने काम भइरहेको, हाइफ्लो चाहियो भने सिलिन्डर नै स्वीच गर्नुपर्ने,

तर अहिले अस्पतालमा अक्सिजन सिलिन्डर अभाव रहेको एक चिकित्सकले बताए । हाइफ्लो अक्सिजन चाहिने बिरामीका लागि अहिले अस्पतालमा अक्सिजनको अभाव भएकाले थप बिरामी भर्ना नसक्ने अवस्था आएको अस्पतालको भनाइ छ ।