७ जेठ, काठमाडौं ।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि
प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन
आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार दावी पत्रमा
ओलीसँगै जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय
दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो ।
हामीसँग १२१ छ, जसपाले साथ दिएपछि बहुमत पुग्यो’
एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको
पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न
विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।