काठमाडौं।
पोखराका विद्यालयमा यस वर्ष वार्षिक परीक्षा नहुने भएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर कोरोना भाइरसको दोस्रो भेरियन्टको महामारीका कारण
भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले महानगर अन्तर्गतका विद्यालयहरुमा वार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो ।
यसअघि सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं
आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न पनि विद्यालयहरुलाई महानगरले निर्देशन गरेको छ ।
पोखराका अधिकांश निजी विद्यालयले भने निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेका छन् ।
महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी
असार १ गतेदेखि मात्र शुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ ।
कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी
अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।